LATEST NEWS

थ्रीस्टार रोकियो, झापा शीर्षस्थानमा

Posted by Daily News Pokhara ~ Monday, 21 September 2015

आश्विन ४, २०७२- राष्ट्रिय लिग फुटबलमा सोमबारका तीनै खेल बराबरीमा टुंगिदा झापा शीर्षस्थानमा उक्लिएको छ । उसले घरेलु मैदानमा सुदूरपश्चिमसँग १–१ को नतिजा निकाल्यो । बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा सुदूरपश्चिमले शिव सुवेदीको गोलसँगै ६५ औं मिनेटमा अग्रता लिएको थियो । तर, विशाल राईले ७५ औं मिनेटमा गोल गर्दै झापालाई १–१ को बराबरीमा पुर्‍याएका थिए । पछिल्ला तीन खेलमा दुई अंक मात्र जोडेपनि झापा शीर्षस्थानमा फर्किएको हो । उसले ११ खेल खेलबाट १८ अंक जोडेको छ । त्यसपछि दुई खेल कम खेलेका आर्मी (१७) र थ्रीस्टार (१६) छन् । डिफेन्डर विष्णु सुनारले ८३ औं मिनेटमा दोस्रो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि दस खेलाडीमा समेटिएको थ्रीस्टारले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिससँग २–२ को बराबरी खेल्यो । यसमा उसले स्पष्ट जित निकालेको भए थ्रीस्टार शीर्षस्थानमा उक्लिने थियो । रेफ्रि विकास महतको विवादास्पद निर्णयले प्रभावित खेलमा थ्रीस्टारले दुईपल्ट अग्रता लिएको थियो । कप्तान सागर थापाले ३७ औं मिनेटमा गोल गरेर थ्रीस्टारलाई अग्रता दिलाएपनि जुमनु राईले पुलिसलाई ४२ औं मिनेटमै १–१ को बराबरीमा पुर्‍याएका थिए । विवादास्पद पेनाल्टीमा सन्तोष साहुखलले गोल गर्दै ६९ औं मिनेटमा फेरि थ्रीस्टारलाई अघि बढाए । विष्णुले पेनाल्टी क्षेत्रमा भरत शाहलाई फल गर्दै लडाएपछि पुलिसले पनि पेनाल्टीको अवसर पाएको थियो । तर, त्यसमा जुमनुले प्रहार गरेको बल पोष्टमा लागेर फर्कियो । तर, त्यस रिबाउन्ड बललाई सब्स्टिच्युट योगेश श्रेष्ठले खेर जान दिएनन् र पुलिसले खेल २–२ को बराबरी गर्‍यो । त्यस्तै, लक्ष्मीमार्गमा भएको खेलमा घरेलु टिम मोरङले अग्रता लिएरपनि लुम्बिनीसँग १–१ को नतिजासहित अंक बाँड्नुपर्‍यो । सुमीत खड्काले ५१ औं मिनेटमा गोल गरेपछि मोरङले अग्रता लिएको थियो । तर, लक्ष्मण रुचालले खेल सकिन सात मिनेटअघि गोल गर्दै पाहुना टिमलाई अंक दिलाए ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply