के बाबुराम यी गल्तीबाट बच्लान् ?
नेपाली राजनीतिमा बौद्धिक नेताको कोटीमा पर्ने डा. बाबुराम भट्टराईको एमाओवादी परित्याग अनपेक्षित, असामान्य र दीर्घकालीन महत्त्वको कदम मानिएको छ । पुग्ने कहाँ हो, ठ्याक्कै बाबुरामले जनताले बुझ्ने भाषामा भनेका छैनन् । तर, झोला बोकेर उनी पेरिसडाँडाको ‘भत्केको’ घरबाट निस्केका छन् । बाबुराम कहाँ जान खोजेका हुन् ? सबैले जान्न चाहेका छन् ।
असोज १० गते अर्थात् जुन दिन बाबुरामले एकीकृत माओवादी परित्यागको घोषणा गरे, पत्नी हिसिला मस्को, छोरी मानुषी दिल्ली, भाइ शिवप्रसाद गोरखा र बुवा भोजप्रसाद कोटेश्वरमा थिए । अर्थात्, सानेपा निवासमा परिवारका कोही सदस्य नभएका बेला बाबुरामले आफ्नो निर्णयपूर्व सहकर्मीसँग के कुरा गरे भन्न सकिन्न । बाबुरामले पत्नी, छोरी, भाइ र बुवासँग छलफल नगर्न सक्छन्, यो उनको अधिकारको कुरा हो ।
आफ्ना नजिकका भनिएका टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल वा अरु कोहीलाई पनि बाबुरामले नभनेर गल्ती गरेका छैनन्, यो उनको स्वविवेकको कुरा हो । बाबुरामले अबका दिनमा के गर्ने भन्ने ठूलै कदम जतिबेला पनि चाल्न सक्छन् । तर, उनले केही गल्ती गर्न भने पाउँदैनन् । गल्तीबाट बच्ने÷नबच्ने बाबुरामकै कदमले उनको भविष्य सुनिश्चित वा अन्धकार कस्तो हुने भन्ने निर्धारण गर्नेछ ।
समाजको अधीनस्थ
बाबुरामले राजनीतिबाट सन्न्यास लिएर बस्न सक्छन् । यसमा कसैको आपत्ति हुनुहुँदैन, यो उनको स्वतन्त्रताको निर्णय हो । तर, कम्युनिस्ट दर्शनलाई आत्मसात गरेर ४० वर्ष राजनीति गरेको उनको पृष्ठभूमि छ । आवश्यकताको मातहतमा व्यक्तिगत स्वतन्त्रता उपयोग गरे पनि उनी समाजको हितको अधीनस्थ रहनुपर्छ । यसबाट भाग्ने गल्ती बाबुरामले गर्न सक्दैनन् । उनका हरेक निर्णयसँग समाज तरंगित हुन्छ, जसलाई बाबुरामले चिक्त बुझाउनुपर्छ ।
भूतपूर्व माक्र्सवादी
जे उद्देश्य र सपना लिएर उनी कम्युनिस्ट भएका थिए, आजको दिनसम्म आउँदा थोरै मात्र प्राप्त भएका छन् । गणतन्त्र र संविधानसभाबाट संविधान आउँदा उनका दुई उद्देश्य पूरा भएका छन्, जुन ४० बुँदेका दुई अंश मात्र हुन् । उनी काठमाडौंबाट महेन्द्रनगर हिँडेको गाडीका ड्राइभर हुन्, दाउन्नेमा पुगेर म अगाडि जान नसक्ने भएँ तपाईंहरू जे गर्ने हो गर्नुस् भनेर भाग्न मिल्दैन ।
नत्र उनले ०५३÷५४ तिर बलिदानपूर्ण कथाले भरिएको ‘थ्यान्क यु मिस्टर ग्लाड’ पुस्तक किन पढ्न लगाएका थिए भन्ने प्रश्न उठ्छ । उनी पूर्वमाक्र्सवादी हुने गल्ती गर्नुहुँदैन, त्यो भयो भने जनयुद्धलाई धोका दिएको ठहर्छ । र प्रश्न उठछ– उनले अहिले जसका आवाज बोकेर नयाँ शक्तिको कुरा गरिरहेका छन्, भोलि उनलाई बाबुरामले धोका दिँदैनन भन्ने आधार के हुन्छ ?
बाबुरामबाट धोकाको राजनीति कसैले स्वीकार गर्दैन भन्ने बुझ्नुपर्छ । बाबुरामले केशरजंग रायमाझी, राधाकृष्ण मैनाली र देवी ओझा भएर बस्ने गल्ती गर्नुहुँदैन । बाबुरामले एकीकृत माओवादीमात्र होइन, वामपन्थी राजनीति नै त्यागेको आरोप लाग्न सुरु गरिसकेको छ ।
गाडी र हेलिकप्टर
बाबुराम विज्ञानका विद्यार्थी हुन्, उनले गाडी जतिसुकै राम्रो बनाए पनि हेलिकप्टर बन्दैन र गाडी जतिसुकै बिग्रँदा पनि रिक्सा बन्दैन भन्ने उनलाई राम्रोसँग थाहा छ । माक्र्सवादका आधारभूत प्रस्तावना छाडेर कुनै पनि माक्र्सवादको विकास हुँदैन बरु भ्रष्टीकरण हुन्छ । माक्र्सवादको भ्रष्टीकरणले पुँजीवादी बनाउने हो, कम्युनिस्ट होइन । बाबुराम भूकम्प प्रतिरोधी घर बनाउन चाहेका छन्, यसमा शंका छैन । तर, माक्र्सवादको विकास आधारभूत प्रस्तावनाको जगमा गर्ने हो, छाडेर होइन । माक्र्सवादको विकास गर्दा त्यसका आधारभूत पक्ष छाड्ने गल्ती गर्नुहुँदैन ।
जनयुद्धको अपव्याख्या
४० बुँदे माग शेरबहादुरलाई आफैँ बुझाएका बाबुरामलाई जनयुद्ध कहाँ पु¥याउने चिज हो भन्ने सुरुदेखि नै थाहा थियो । अर्थात् युद्धको अन्तिम लक्ष्य नयाँ जनवादी राज्यसत्ता नै हो भन्ने उनलाई थाहा नहुने कुरै भएन । बाह्रबुँदे हुँदै लोकतान्त्रिक गणतन्त्रको कार्यदिशालाई नै जनयुद्धको अन्तिम उद्देश्यका रूपमा व्याख्या गर्ने गल्ती बाबुरामबाट हुनुहुँदैन, जसले युद्धमा उनले खेलेको भूमिकामाथि नै प्रश्न उठाउन सक्छ ।
जनवादी राज्य सत्ता प्राप्त गर्न सकिएन भन्न पाउँछन्, संविधानसभाबाट संविधान जारी गर्ने नै अन्तिम हो भन्न पाउँदैनन् उनले । आवश्यक परे भोलि जनयुद्ध अरूले गर्लान्, त्यसको बन्ध्याकरण गर्ने कुरा ठीक हुँदैन । जनयुद्धको अपव्याख्याले युद्धकालमा मारिएका, बेपत्ता पारिएका परिवार र घाइतेको मनमा चोट पु¥याउन सक्छ, बाबुरामले यो गल्ती कुनै कोणबाट गर्नु हुँदैन ।
नयाँ शक्तिको बुझाइ
बाबुरामले नयाँ पार्टी बनाउँदा पनि विवेकपूर्ण निर्णय लिनुपर्ने हुन्छ, यहाँ हुने गल्तीले भयानक समस्या पैदा गर्न सक्छ । मजदुर र श्रमिक वर्ग नै इतिहासका अन्तिम र क्रान्तिकारी शक्ति हो भन्ने माक्र्सवादी बुझाइ हो । यसो भएपछि क्रान्तिकारी सोच नै नयाँ शक्ति हो र यसका लागि भौँतारिनुपर्दैन, विचार, कार्यदिशा, नारा र कार्यक्रम तयार गरे हुन्छ, जसको जगमा संगठन आफैँ बन्न सक्छ ।
जनयुद्धलाई स्वीकार नगर्ने, माक्र्सवादको आधारभूत पक्ष छाड्ने र राष्ट्रिय स्वाधीनतामा अडिग नहुने नयाँ शक्तितिर जानु बाबुरामको हितमा नहुन सक्छ । विचार भएन भने डा. गोविन्द केसी भइन्छ, माग पूरा गराउन वा भन्न ज्यानको बाजी लगाएर अनशनको खोजीमा लाग्नुपर्ने हुन्छ । विचार र कार्यक्रम दिन सकेनन् भने डा. भट्टराईले डा. केसीकै अनशनपथ समाउनुपर्ने हुन्छ । राष्ट्रिय संकट गहिरो भएका बेला बाबुरामले एमाओवादी त्याग गर्दा विस्तारवादी नीतिलाई सहयोग पुग्ने आशंका उनका राजनीतिक गुरुले गरिसकेका छन् । नयाँ शक्ति होइन चाहिएको नयाँ विचार हो ।
नत्र उनले ०५३÷५४ तिर बलिदानपूर्ण कथाले भरिएको ‘थ्यान्क यु मिस्टर ग्लाड’ पुस्तक किन पढ्न लगाएका थिए भन्ने प्रश्न उठ्छ । उनी पूर्वमाक्र्सवादी हुने गल्ती गर्नुहुँदैन, त्यो भयो भने जनयुद्धलाई धोका दिएको ठहर्छ । र प्रश्न उठछ– उनले अहिले जसका आवाज बोकेर नयाँ शक्तिको कुरा गरिरहेका छन्, भोलि उनलाई बाबुरामले धोका दिँदैनन भन्ने आधार के हुन्छ ?
गल्ती गरे के होला
गल्तीहरूबाट बचेनन् र समाजवादी चरित्र भनिएको संसदवादी राजनीतिक शक्ति बनाएनन् भने बाबुरामको भविष्य के होला ? पक्कै पनि त्यो पार्टीको आधारभूत चरित्र कांग्रेससँग मेल खान्छ । त्यसले आफ्नो वैचारिक–राजनीतिक औचित्य पुष्टि गर्न सक्दैन । जनयुद्धलाई धोका दिएको आरोप उनीमाथि जिन्दगीभर लाग्नेछ, त्यो माओवादी वा गैरमाओवादी दुवै तप्काबाट । सामाजिक सञ्जालमा उनीमाथि जे–जति आरोप लाग्ने गरेका छन्, राष्ट्रियताको विषय छाडे मानिस आरोपलाई सत्यको नजिक मान्नेछन् ।
अपुरो हुने खतरा
एमाओवादीमा प्रचण्ड, किरण र बाबुराम एकअर्काका परिपूरक छन् । एउटा पूर्ण होइन, तीनजना एक ठाउँ हुँदा मात्र पूर्णता हुन्छ भन्ने माओवादी आन्दोलनको बुझाइ हो । बाबुरामले पुरानो घर भने पनि उनको अस्तित्व र पहिचान त्यहीँबाट भएको हो । त्यो चटक्कै छाडेर नयाँ पहिचानको खोजी सजिलो नहुन सक्छ । हिजो वैद्यहरू फुटेर जाँदा माओवादीमा उनको अभाव भयो । वैद्यले नयाँ पाटी त बनाए, तर गति लिन सकेन, कारण उनी अपूर्ण बने । आज बाबुराम निस्के, भोलि नयाँ पार्टी बनाउलान्, त्यो पनि अपूर्ण हुन सक्छ, जहाँ प्रचण्ड र वैद्यको अभाव देखिन सक्छ । हिजो वैद्यको जति ओज थियो, त्यो आज छैन । कतै बाबुरामसँग पनि त्यही समस्या त आउँदैन भन्ने प्रश्न उठेको देखिन्छ । सहकार्य र संघर्ष जे भए पनि प्रचण्ड–बाबुराम दुवैको बलमा माओवादी आन्दोलन पूर्ण बनेको मानिन्छ । बाबुराम, वैद्य र प्रचण्ड संस्था हुन्, चिन्तन हुन् । उनीहरूले एकअर्काको अभावको महसुस जहाँ पनि गर्नेछन् ।
दुई विकल्प
बाबुरामले पत्रकार सम्मेलनमा पुरानो घरमा नफर्कने बताएका छन्, तर नयाँ घर बने के गर्छन् ? अहिले भन्नु हतार हुन्छ । ९ असोजको राजीनामा उनको पार्टी जीवनको छैटौँ राजीनामा हो, त्यसकारण बाबुराम फेरि मूल घर फर्कन्न सक्छन् भन्ने विश्वास गर्न सकिन्छ । यसका लागि उनीसँग दुईवटा विकल्प छन् । तराई–मधेसको आन्दोलन हल गर्न मध्यस्थको भूमिका खेल्न सक्छन्, जसले असन्तुष्टहरूको माग पनि सम्बोधन हुने र बाबुरामको बिग्रिएको छवि एक–एक रिकभर हुन सक्छ ।
अर्को उनीसँग विकल्प छ, सबै माओवादीबीचको एकतालाई सर्त बनाउने र प्रचण्डसँगै हिँड्ने । पार्टी त्यागपछि बाबुरामले चाहे भने प्रचण्ड वैद्य, विप्लव, मणि र मातृकासम्मको संयुक्त बैठक आह्वान गर्न सक्छन्, जसले पार्टी एकतासम्म पु¥याउने आधार तयार गर्न सक्छ । सबै माओवादीको साझा फोरममार्फत नयाँ पार्टी बन्छ, नयाँ पार्टीमार्फत नयाँ नेता बन्ने विकल्प उनीसँग छ । यसो भयो भने बाबुरामलाई पुरानो होइन, नयाँ घरमा फर्कने विकल्प हुन सक्छ । प्रचण्डले केन्द्रीय समिति बैठकमा बाबुरामलाई घर फर्काउन सारेको सूत्र पनि यस्तै–यस्तै छ । यो विषयमा प्रचण्ड–वैद्य र बाबुराम–वैद्य बीच कुरा भएको पनि छ ।
यो पनि सत्य
यो पनि सत्य हो, माओवादी आन्दोलनमा बाबुराम धेरैपटक उत्पीडनमा परेका छन्, उनीमाथि अन्याय भएको छ, अपमान भएको छ । उत्पीडितका विरुद्ध भित्र र बाहिर संघर्ष माक्र्सवादले मागेकै हुन्छ । तर, संघर्षमा गल्ती नगरी हिँड्ने प्रयत्न गर्नुपर्छ । बाबुरामले स्पष्ट गर्नुपर्छ, म यसो गर्नेछु भनेर । आशा छ, उनको उत्तर पढ्न पाइनेछ ।

No comments: