LATEST NEWS

करिश्मा मानन्धरकाे नजरमा ६ निर्देशक को-कस्तो ? (थाहा पाउनुहोस)

Posted by Unknown ~ Wednesday, 30 September 2015

नेपाली सिने जगत्मा ‘एभरग्रिन हिरोइन’को पहिचान राख्छिन्, करिश्मा मानन्धर । रूपवती भएकै कारण १४ वर्षको उमेरमै फिल्म खेल्ने अवसर पाएकी करिश्माको फिगरले अहिले पनि उनको खास उमेरलाई नै ‘फ्लप’ खुवाएको छ । पाकिस्तानी र बंगलादेशीसागको ‘ज्वाइन्ट भेन्चर’मा नेपाली फिल्म बन्ने जमानामा अभिनयमा लागेकी करिश्माले पुराना धेरै निर्देशकसाग काम गरिन् । ०५९ मा ‘बाबुसाहेब’ निर्माण गरेर घाटा व्यहोरेकी करिश्मा अहिले फेरि ‘फागु’ निर्माणको तयारीमा रहेको बताउछिन् । उनले काम गरेका निर्देशक उनको नजरमा :- प्रकाश थापा मलाई यो धर्तीमा जन्म दिएर बुबा सानैमा बित्नुभयो । दुई वर्षकी छँदा बुबा गुमाएकी मैले कसरी उहाँको प्रस्ट तस्बिर स्मरण गर्न सकूँ ? म केवल आइमाईका बीचमा हुर्किएकी थिएँ । प्रकाश थापाजस्तो ‘म्याचुअर्ड’ मान्छेलाई मैले बुबाजस्तो ठानेँ । चलचित्रमा मलाई उहाँले नै जन्माउनुभयो । यो मानेमा पनि उहाँ मेरा लागि बुबासमान नै हुनुहुन्थ्यो । एक दिन टोलकै दाइ प्रकाश अधिकारी (कलाकार), उज्ज्वल घिमिरे (हाल निर्देशक) र मैले एउटा फोटो सुट गरेका थियौँ । प्रकाश अधिकारी दाइले त्यो फोटो लगेर निर्देशक प्रकाश थापालाई देखाउनुभएछ । मेरो फोटो हेरेपछि उहाँले भन्नुभयो रे, ‘यो केटी को हो, भेट्न मिल्छ ?’ म १४ वर्षकी ‘योङ’ थिएँ, आठ कक्षामा पढ्दै गरेकी । मेरो रूप र फिगरको टोल–छिमेकमा सानैदेखि चर्चा चल्थ्यो । यसलाई त हिरोइन बनाउनुपर्छ भन्थे । ममाथि दिज्यू अञ्जली श्रेष्ठको जोड अलिक बढी नै थियो । जब निर्देशक प्रकाश थापाको इच्छा प्रकाश दाइमार्फत मेरी दिदीसम्म आइपुग्यो, तब दिदीले ‘ओके’ गरिदिनुभएछ । दिदीले यो कुरा सुनाएपछि मैले पनि ‘डन’ गरिदिएँ । ‘एक्टिङ’बारे थाहै नभएको मान्छे फिल्म खेल्ने सोचमा हाम फालेँ । पहिलो भेटमा प्रकाश सरले सोध्नुभयो– सिनेमा हेर्ने गरेको छ ? मैले ‘छैन’ भनेँ । ‘राम्री त रहिछ्यौ, एउटा ‘नेगेटिभ रोल’मा खेल्नुपर्छ,’ भन्नुभयो । ‘स्क्रिन टेस्ट’मा म छानिएँ । गौरी मल्लले नायिकाको भूमिका निभाएको ‘सन्तान’मा मेरो रोल निकै ‘मोर्डन’ थियो, त्यो वेलाको समाजका लागि । धेरै निर्देशकसँग मैले काम गरेका आधारमा अहिले तुलना गर्दा प्रकाश थापाको निर्देशन नियम नै बेग्लै थियो भन्ने लाग्छ । उहाँ सुटिङको पूरै सेड्युल नै बनाएर नियममा चल्नुहुन्थ्यो । सुटिङभर के खाने, कतिखेर सुत्ने, कतिखेर उठ्ने, कस्तो लगाउने, मेकअप/गेटअप/ड्रेसअप कस्तो गर्ने भन्ने सबै उहाँकै ‘आइडिया’ चल्थ्यो । उहाँ निकै पोख्त लाग्थ्यो मलाई । म त बुबाको अभावमा हुर्किएकी छोरी, उहाँसँग रहँदा आफ्नै बुबासँग रहेको अनुभूति गर्थेँ । एउटा कुरामा मलाई अहिले दु:ख लाग्छ, उहाँसँग जे कुरामा ‘मिस अन्डरस्ट्यान्डिङ’ भएको थियो । राति–राति पनि सुटिङ हुन्थ्यो । म त एउटा ‘सिन’मा सुटिङ सकेर अर्को कुरुन्जेल त्यहीँ निदाउँदी रहिछु । आखिर, बच्ची नै त थिएँ नि । सुटिङ गर्नुपर्ने भएपछि एकपटक उहाँले चर्को स्वर गरेर मलाई निद्राबाट ब्युँझाउनुभएको थियो । मलाई निकै रिस उठ्यो । निद्राकै तालमा उहाँलाई भनिदिएछु, ‘कस्तो बुढो रै’छ !’ प्रकाश सर पनि ‘यो त बदमास पो रहिछे’ भन्दै मसँग रिसाउनुभयो । उहाँले त मेरोबारे के–के ‘नेगेटिभ’ प्रचार गर्नुभयो नि । मेरो त केवल बचपनको रिस थियो । केही समयमै सेलाइहाल्यो । उहाँजस्तो ‘म्याचुअर्ड’ले म बच्चीलाई ‘स्क्यान्डल इस्यु’ बनाएको देख्दा भने अचम्मित भएँ । ‘सन्तान’पछि उहाँले मलाई रोज्नु पनि भएन । कति लामो रिस ? तर, अरूका फिल्ममा भने काम गरिरहेकी थिएँ । मेरो ‘पर्फमेन्स’को राम्रो चर्चा भइरहेको थियो । काम गर्दै जाँदा मैले ‘प्रुभ’ गरेर देखाएँ, यो कुरा प्रकाश सरले झन्डै १० वर्षपछि स्विकार्नुभयो । मल्ल होटेलमा फिल्मकर्मीकै एउटा पार्टी थियो । लामो कालखण्डमा उहाँसँग त्यहीँ भेट भएको भयो । मैले उहाँसँगै बियर ‘चेयर्स’ गरेँ । ‘मैले फिल्मी नगरीमा भित्र्याएकी केटी’ भन्दै सबैसामु उहाँले प्रशंसा गर्नुभयो, ‘आई एम प्राउड अफ् यू ।’ मैले सन्तोष महसुस गरेँ । तर कहिल्यै सोधिनँ, मसँग किन रिसाउनुभएको भनेर ? घटनाक्रम जे–जे भए पनि उहाँ मेरो ‘गड फादर’ नै हो ।लामो ग्यापपछि एउटा फिल्ममा उहाँले मलाई ‘अफर’ गर्नुभएको थियो । तर, मेरो समय मिलेन । यो मोडमा हामी दुवैले चाहेर पनि सँगै काम गर्न सकेनौँ । नीर शाह ‘आई हेभ हाइली रेस्पेक्टेड हिम ।’ ‘डायलग’ भन्दा म कसैसामु काँप्छु भने केवल नीर दाइसँग मात्रै । उहाँ कलाकारिताका लागि जिन्दगीमा धेरै कुरा दाउ लगाउनुभएको व्यक्ति हो । उहाँ अचम्मका प्रोजेक्ट ल्याउनुहुन्छ । ‘वसन्ती’का लागि वसन्तीको खोजी हुँदै गर्दा उहाँले मलाई रोज्नुहोला भन्ने सोचेकी पनि थिइनँ । अहिले पनि भेट हुँदा मलाई वसन्ती भनेर बोलाउनुहुन्छ । ‘वसन्ती’को सुटिङ सक्न सात महिना लागेको थियो । त्योबीचमा अन्य कुनै पनि फिल्ममा काम गरिनँ । मैले नीर दाइको निर्देशनमा गरेको फिल्म ‘वसन्ती’ मात्रै हो । म नीर दाइमा सधैँ मेरो बुबाको रूप देख्छु । मेरो बुबाको ‘पर्सनालिटी’ पनि उहाँको जस्तै थियो होला भन्ने ठान्छु । सँगै खेलेका धेरै सिनेमामा हाम्रो रोल बुबा–छोरीकै छ । ‘वसन्ती’को सुटिङमा मैले उहाँलाई ‘मुडी’ निर्देशकका रूपमा चिनेँ । ‘मुड’का भरमा काम गर्ने उहाँको स्वभाव छ । फिल्म सुटिङ हुँदाहुँदै ‘मुड’ चलेन भने ‘प्याकअप’ गरिदिनुहुन्थ्यो । तर, उहाँसँग काम गर्दा कहिल्यै अप्ठ्यारो लागेन । नजानेका कुरा सिकाउँदै काम लगाउने उहाँको शैली छ । नारायण पुरी मैले नारायण पुरीले निर्देशन गरेको ‘महादेवी’, ‘तपस्या’लगायत फिल्ममा खेलेँ । नारायण र म फिल्मी नगरीमा समकालीन नै हौँ । मैले काम गर्दै गर्दा उसले सिक्दै थियो । हामी दुवै ‘योङ’ भएकाले पनि नारायणसँग काम गर्न मलाई सजिलो महसुस हुन्थ्यो । हाम्रो झगडा पनि उत्तिकै पथ्र्यो । तर, चाँडै नै मिल्थ्यौँ । ०५१ सालतिर ‘महादेवी’को सुटिङकै क्रममा हाम्रो ठूलै ‘मिस अन्डरस्ट्यान्डिङ’ भएको थियो । पोखरामा सुटिङ थियो । एउटा नराम्रो हल्ला चलेछ । भोलिपल्ट विनोद (मेरो श्रीमान्)ले अकस्मात् सुटिङस्थलमै पुगेर नारायणलाई पिट्न थालेछ । उनीहरू झगडा गरेको सुरुमा मलाई थाहै भएन, त्यो ठाउँबाट थोरै टाढा थिएँ । जब झगडा परिरहेको देखेँ, एकछिन टाढै बसेर हेरेँ । केहीबेरमा मैले नै गएर उनीहरूलाई छुट्याएँ, अरू साथीहरू पनि थिए । त्यतिखेर निकै नराम्रो भएकै हो । पछि थाहा भयो, कोही तेस्रो व्यक्तिले गलत हल्ला चलाएको रहेछ । नारायणले पछि त्यो व्यक्तिलाई सम्झायो । नराम्रो चिज कति समय टिक्छ र ? म त्यो व्यक्तिको नाम लिएर अहिले उसको करिअर बर्बाद गर्न चाहन्नँ । फेरि म पनि त फेमिली भइसकेकी मान्छे हुँ । प्रकाश सर, नीर दाइसँग डर लाग्थ्यो, तर नारायणसँग त सल्लाह गर्दै काम गरेँ । ड्ेरसअप र मेकअप आफ्नै इच्छाअनुसार गर्थेँ । नारायण र मेरो सम्बन्ध बाहिर हल्ला गरेजस्तो नराम्रो खासै भएको होइन । अहिले पनि ‘रेस्पेक्ट’ गर्छ । किशोर राना किशोर रानाको निर्देशनमा मैले ‘एक नम्बरको पाखे’, ‘उपहार’लगायत फिल्म खेलेँ । उहाँ ‘टेक्निकल्ली’ राम्रो डाइरेक्टर हो । उहाँका केही कुरा प्रकाश थापासँग मिलेजस्तो लाग्थ्यो मलाई । उहाँ सुटिङमा एकदम ‘पर्फेक्टनेस’ चाहने डाइरेक्टर हो । एउटै सिन गर्न धेरैपटक लगाउने । यो मान्छेले के गर्न आँटेको होला भन्ने सोच्थेँ म । सुटिङ गर्दै गर्दा उहाँको निर्देशन ‘आर्टिफिसियल’जस्तो लाग्थ्यो । एडिटिङ गरेपछि हेर्दा पो थाहा हुन्थ्यो, उहाँले गर्न खोजेको यो रहेछ भनेर । ‘कन्फिडेन्ट लेभल’ एकदमै ‘हाई’ भएको डाइरेक्टर हो उहाँ । मेरो प्राय: डाइरेक्टरसँग फ्रेन्ड्ली सम्बन्ध रह्यो । डाइरेक्टरलाई तुरुन्तै नजिक गराउन सक्ने क्षमता राख्थेँ म । सुटिङ ‘प्याकअप’ गरेपछि धेरैसँग गफ लगाएर बस्न सक्थेँ । तर, किशोर दाइसँग त्यसो गर्न कहिल्यै सकिनँ । कामबाहेक अन्य कुरामा उहाँसँग ‘क्लोज’ हुन सकिनँ । यादव खरेल यादव खरेल दाइको निर्देशनमा ‘नासो’ फिल्म गरेँ । उहाँको लेखनको फ्यान नै हो म । उहाँ कडा निर्देशक हो, ‘टाइमिङ’मा चल्ने । उहाँसँग काम गर्दा बिहान ६ बजेबाटै सुटिङ सुरु हुन्थ्यो, चार बजे नै उठेर मेकअप गर्नुपर्ने । पहिलो दिनकै सुटिङमा उहाँसँग मेरो ‘वार’ पर्‍यो । सुटिङस्पट गणेश हिमालको काखमा थियो । बिहान ६ बजे पुग्नुपर्ने, नौ बजे पुग्यौँ । म त चार बजे नै उठेर ‘रेडी’ भएकी थिएँ, शिव श्रेष्ठ दाइले गर्दा ढिलो भएको थियो । यादव दाइले कोठामा बोलाएर स्पष्टीकरण लिनुभयो । त्यो दिनको सुटिङ नै ‘प्याकअप’ गर्न लगाउनुभयो । मलाई रिस उठ्यो । ‘शिव दाइले गल्ती गर्ने, मैले सजाय भोग्नुपर्ने ?’ ठाडो प्रश्न राख्दै मैले सुटिङ गरौँ भनेँ । यादव दाइले ‘यो केटी त जबर्जस्ती रै’छे’ भनेर कराउनुभयो । हिमालको काख, जाडो हुन्थ्यो । फ्रेस हुन बिहानै उठेर गीत गाउँदै नाच्थेँ । एक दिन उहाँले ‘यो केटी त पागलनी रहिछे कि क्या हो’ समेत भन्नुभयो । यादव दाइसँग सुरुमा निकै डर लाग्थ्यो । तर, छोटो समयमै मैले उहाँजस्तो मान्छेलाई नजिकको बनाउन सकेँ । साथमा बसेर गफिन सक्ने बनाएँ । उहाँमा बच्चाजस्तो व्यवहार पनि रहेछ । उहाँ मेरो ससुराको साथी पनि हो, तर केटाकेटीपन देखेर छक्क पर्थेँ । आकाश अधिकारी आकाश अधिकारीको निर्देशनमा ‘रणभूमि’, ‘पन्छी’लगायतमा काम गरेँ । उहाँसँग सुरुदेखि अहिलेसम्म पनि मेरो ‘ट्युनिङ’ राम्रो छ । सिनेमामा कामै नगर्दा पनि हाम्रो पारिवारिक सम्बन्ध एकदमै राम्रो रहँदै आयो । साह्रो, गाह्रो पर्दा एक–अर्कालाई सघाउँछाँै । मैले बनाउँदै गरेको फिल्म ‘फागु’मा उहाँलाई टेक्निकल्ली इन्भल्ब गराएकी छु । उहाँ एकदमै ‘कुल पर्सन’ हुनुहुन्छ, कहिल्यै नरिसाउने । रिस उठाइदिनुपर्‍यो भनेर त्यस्तै व्यवहार देखाउँदा पनि नरिसाउने । अनि, एकदमै ‘हार्डवर्क’ गर्ने बानी । सिनेमामा काम गर्दा पनि उहाँमा यो व्यवहार देखिन्थ्यो । उहाँका फिल्म हेर्नुभयो भने प्राय: लभ र प्रकृति झल्किएकै देख्नुहुन्छ । उहाँलाई मैले सधँै डाइरेक्टरभन्दा पनि साथीका रूपमा हेरेँ र हेर्छु । हामीबीचमा जोक पनि चल्छ । आकाश अधिकारी, शान्ता म्याम (डान्स डाइरेक्टर शान्ता नेपाली) र हामी बुढाबुढी एकचोटि टाटा सुमोमा गोहाबाट मुम्बई आइरहेका थियौँ । अगाडि आकाशजी, बीचमा शान्ता म्याम र पछाडि हामी बसेका थियौँ । आकाशजीलाई जिस्क्याउन हामी १५/१५ मिनेटमा पिसाब लाग्यो भन्दै गाडी रोकेर ट्वाइलेट जान्थ्यौँ । प्रत्येक चोटि उहाँ पनि हाम्रो पछि–पछि ट्वाइलेट जाने । त्यतिखेर मैले उहाँको ‘निकनेम’ नै राखेँ । अहिले त्योचाहिँ भन्न सक्दिनँ । भन्नै नमिल्ने ‘वर्ड’ छ क्या ! समग्रमा हेर्दा उहाँ जस्तो स्थितिमा पनि काम गर्न सक्ने मान्छे हो । जस्तो परिस्थितिमा पनि ‘एडजस्ट’ भएर काम गर्न सक्ने खुबी उहाँमा छ । स्रोत : ओ यस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply