LATEST NEWS

फेसबुकमार्फत बाबुरामको रोइलो

Posted by Unknown ~ Thursday, 19 November 2015

‘भीरबाट हाम फाल्न लागेको गाईलाई राम–राम भन्न सकिन्छ, काँध थाप्न सकिंदैन’ भन्ने उखान नेपाली राजनीतिमा फेरि एकपटक चरितार्थ भएको छ । त्यो पनि ‘नयाँ शक्ति’को नाममा राजनीतिक धन्दा चलाएका डा. बाबुराम भट्टराईको हकमा यो बढी सान्दर्भिक देखिन पुगेको छ । नयाँ शक्तिको नाममा बहकावी धन्दा चलाएपछि हुरहुर मान्छे आउँछन् र आफू शक्तिमा विराजमान हुन र एमाओवादीलाई साइजमा ल्याउन सक्छु भन्दै अगाडि सरेका डा. भट्टराईलाई एमाओवादीमै रहेकाले समेत राम्ररी साथ नदिएपछि फेसबुकमार्फत रोइलो गर्न थालेका छन् । उनले मंसिर १ गते फेसबुक मार्फत नयाँ शक्तिको लोगो, नारा र बेवसाइटको नाम समेत माग गरेका छन् । डा. भट्टराईको पछिल्लो गतिविधिले भारतलाई नै सघाएको र भारतको योजनामा नै उनी चलेको भन्ने पुष्टि भएपछि उनको घरभित्रै र बाहिर समेत चर्को आलोचना भएको छ । पछिल्लो पटक भारतीय टेलिभिजन च्यानल सीएनएन आइबीएनलाई उनले दिएको अन्तरवार्तामा आफू भारतीय भएको प्रष्ट पारेका थिए । उनले नेपालमा चीनले केही पनि गर्न नसक्ने भन्दै भारतको साथ र सहयोग चाहिने भन्दै भारतको नै गुनगान गरेका थिए । भारतीय योजनामा एमाओवादीबाट बाहिरिएको र नयाँ शक्तिको नाममा एमाओवादीको प्रभाव कम गर्ने योजनामा रहेको भन्दै चर्को आलोचना व्यहोरेका डा. भट्टराईकै गतिविधि हेर्दा पनि त्यस्तै देखिंदै आएको छ । पछिल्लो दिनमा मुलुकका विभिन्न जिल्लामा नयाँ शक्तिको प्रचार गर्ने भन्दै निस्के पनि कुनै सकारात्मक परिणाम नदेखिएको भन्दै दुःखेसो व्यक्त गर्ने जमात बढ्दै गएको छ । त्यसो त आफ्नै भनिनेहरूमा समेत मेल छैन, देवेन्द्र पौडेललाई कोही कसैले मन पराउँदैनन् । नवराज सुवेदी र लिलबहादुर थापाको बीचमा मिल्ती छैन । उनीहरू एकले अर्कोलाई सिध्याउन लागिपरेका छन् । मधेशमा साथ दिने भनिएकाहरूमा पनि एकआपसमै मारामार रहेको छ । रामचन्द्र झालाई अवसरवादी र भारतीय नागरिकता भएको भन्दै कोही स्वीकार गर्ने पक्षमा रहेका छैनन् । गंगानारायण श्रेष्ठ सिन्धुलीमा नै कोही कसैले स्वीकार गर्ने पक्षमा छैनन् । पूर्वाञ्चलमा उनको पक्षमा कोही पनि रहेका छैनन् । राजधानी आसपासमा उनको पक्षमा कोही छैनन् । काठमाडौं उपत्यकामा डा. भट्टराईको नयाँ शक्तिमा लाग्ने कोही छैनन् र जाने पक्षमा पनि कोही छैनन् । पूर्व प्रशासकहरू पनि उनलाई साथ दिने पक्षमा छैनन् । भारतीय राजदूतसँगको अघोषित साँठगाँठ र नेपालमाथि लगाइएको नाकाबन्दीलाई समर्थन गरेको भन्दै उनकै पक्षमा लागेका समेत पुरानै घरमा फर्कने तयारी गरेपछि डा. भट्टराईलाई लौ डाक्टर अब हुने भएन प्रचण्डसँग एकपटक मिल्न पर्यो भन्दै अर्ती दिने गरेको सानेपा स्रोतले जनाएको छ । आफ्ना स्वकीय सचिव विश्वदीप पाण्डेका पीता समेत रहेका एमाओवादी सांसद भक्तिप्रसाद पाण्डेलाई समेत भेट्न नगएको भन्दै आलोचना भएको छ । सोही कारण विश्वदीपले समेत बाबुरामलाई साथ छाड्ने तयारी गरेका छन् । अन्तिममा बाबुरामको नयाँ शक्तिमा उनी एक्लै हुने देखिएको छ । एमाओवादी छाडेका समेत पुनः पुरानै घर फर्केर आत्मालोचना गर्ने तयारीमा रहेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर रहेको छ । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply