बाबुले अर्कै श्रीमती र आमाले अर्कै श्रीमान खोजेपछि १० वर्षीय बालकको बिचल्ली
गोरखा, चैत ६ :गोरखाको ताङ्लिचोक गाविस ९ भलायडाँडाको पुछारगाउँमा सालघारी माझको पखेरामा प्रकाश चेपाङ बस्दै आएका छन् ।
उनको राहतमा पाएको जस्ता छापेको एकपाखे घरको धुरीमा छ । घरमा गारो र बारबन्देज केही छैन, चारैतिर खुला छ । उनी घरमा बस्दैनन्, सुत्छन्मात्र । उनको घरमा ओछ्यानमात्र छ, बस्ने ठाउँ छैन । सामान केही छैन । चुलो आँगनमै छ ।
प्रकाश यो उदांगो घरमा बसेको १० वर्ष भयो । उनलाई जन्म दिने आमाबुबा दुवै घरमा छैनन् । उनलाई जन्माएर बुबाआमा लाखापाखा लागेपछि ७८ बर्से हजूरबाले लालनपालन गर्दै आएका छन् । सालघारीको घरमा वृद्ध हजूरबुबासँग सुत्दा प्रकाशलाई बाघको डर लाग्छ ।
‘उनी भन्छन् निदाइरहेका बेला बाघले तान्छ कि भनेर डर लाग्छ । सधैं आइरहने सर्प, बाँदर र स्यालसँग भने डर नलाग्ने उनी बताउँछन् । सुत्नका लागि भुइँबाट आधा फिट अग्लो टाँड छ । टाँडमाथि सुकुलमा दुईवटा दरी ओछ्याइएको छ भने ओढ्नका लागि दुईवटा कम्मल छन् । यी सबै सामान राहतमा आएका हुन् । आमाबुबाको भने न्यास्रो नलाग्ने उनी बताउँछन् ।
उनले भने बुबा कान्छी आमा लिएर चितवनको माडी गएर उतै बसोबास गर्न थाले । आमाले पनि गाउँकै एक युवकसँग दोस्रो बिहे गरिन् । तर आफु दुवैतिर जान नपाएएको उनि बताउँछन् । १० वर्षका प्रकाश ७८ बर्से हजूरबाको सारथी बन्दै घर रुँगेर बस्छन् ।
पृथ्वी राजमार्गको चुमखोलामा गाडीले हानेर हजूरबा थापा माहिलालाई सडकमा लडाइदियो । अहिले पनि टाउकोमा गम्भीर चोट छ । घरिघरि फन्फनी रिँगटा लागिरहन्छ । सडकमा बजारिएकाले उनलाई छाती दुख्ने समस्या पनि छ । आफ्नो जीर्ण शरीर र बालक नाति पाल्न उनी जंगलमा घाँस र दाउरा काट्छन् । अनि चुमखोलामा बेच्छन् । उनी टाउकोमा राखेर भारी बोक्न सक्दैनन् । ‘बाजे टाउकोमा राखेर भारी बोक्न सक्दैन । घाउ छ प्रकाश भन्छन्, ‘निधारमा राखेर बोक्छन् । अनि चुमखोलामा लगेर बेच्छ ।
बाजेले घाँस र दाउरा बेचेर चामल किनेर ल्याउँछन् र दुईजनाको ज्यान पालिएको उनी बताउँछन् । उनका हजूरबाले बेलुकीको छाक टार्ने एक माना चामल सिरानीमुनि पोलिथिन झोलाभित्र राखेको उनी देखाउँछन् । सधैं चामलकै भात खान पाएको प्रकाश खुसी हुँदै सुनाउँछन् ।
घाँस–दाउरा बेचेर उनका हजूरबाले दिनदिनै चामल किनेर ल्याउँछन् । बेलाबेला उनका हजूरबा चुमखोलाबाट राति निकै ढिला गरी आउँछन् । त्यतिबेलासम्म आफू भोकै सुतिसक्ने प्रकाश सुनाउँछन् । ‘बेलाबेला बाजे चुमखोलाबाट रक्सी खाएर राति आउँछ । म निदाइसक्छुु, उनी भन्छन्, ‘राति ब्युँझँदा भोक लाग्छ । भोक लागे पनि नकराईकन बस्छु ।
एकाबिहानै देखि केही नखाई बस्दा खप्नै नसक्ने भोक लाग्ने उनी सुनाउँछन् । सानैदेखि उनले निस्तै भात खाने गरेका छन् । दाल, तरकारी र अचार बनाउने त चलनै छैन । उनले नुनको धुलो हालेर भात मुछ्ने गरेका छन् ।
‘उनले भने बाजेले बिहानै उठेर खाना पकाउँछ । अँध्यारैमा खान्छ र काममा जान्छ’, । बिहानको खाना सखारै खाने उनी त्यसपछि एकैपटक रातिमात्र खान पाउँछन् । उनको खुट्टामा अहिलेसम्म जुत्ताचप्पल परेको छैन ।
जीँउमा ठूलो हुने गरी लगाएको स्विटर, सर्ट र खुट्टामा लामो हुने पाइन्ट घुँडामाथिसम्म आउने गरी दोबारेर लगाएको ‘यो सबै बाजेको लुगा झिकेर लगाएको होु, उनी भन्छन् । बाजेका अनुसार प्रकाशको खास नाम कुमबहादुर चेपाङ हो । बाजेको नामचाहिँ टंकबहादुर चेपाङ हो । आफूलाई अरूले पाल्नुपर्ने बेलामा उनी नाति हुर्काइरहेका छन् ।
उनका अनुसार कान्छो छोरोबाहेक सबै छोराछोरी गाउँबाहिर छन् । गाउँमै भएको कान्छो छोराले पनि नपालेपछि ७८ वर्षीय थापा माहिलाको बिचल्ली भएको छ ।

No comments: