सकारात्मक अभियानको अपिल
पूर्व सभासद तथा नेकपा एमालेकी नेतृ शान्ता चौधरीले भारतीय हस्तक्षेपको विरोध गर्नुभएको छ ।
आइतबार सामाजिक सञ्जालमार्फत आम नेपाली जनतामाझ सन्देश सार्वजनिक गर्दै उहाँले भारतका अगाडि नेपाली कुनै हालतमा नझुक्ने बताउनुभएको छ । उहाँले लेख्नुभएको छ- एक मुठ्ठी साँस रहुञ्जेल हामी नेपाली भारतका अगाडि झुक्ने छैनौं ।’
अब नेपालीहरु आत्मनिर्भर बनेर देखाउनुपर्ने भन्दै शान्ताले सकारात्मक अभियानको अपिल समेत गर्नुभएको छ । ‘अहिले नेपाललाई भारतले अघोषित नाकावन्दी लगाएको अवस्था छ । यो अवस्थामा सम्पूर्ण जनता एकजुट हुनुपर्छ र एकले अर्कालाई सहयोग गर्नुपर्छ ।’ उहाँले भन्नुभएको छ ।
यस्तै उहाँले अगाडि लेख्नुभएको छ- ‘अब अति जरुरी नभइ गाडी-बाइक नचलाउँ । अति जरुरी नभइ यात्रा नगरौं । निजी सवारी साधनमा पनि एक्लो यात्री नबनौ । आफू कतै जान पर्दा त्यतातिर जान लागेका वटुवाहरुलाई लिफ्ट दिउँ । अनावश्यक रुपमा लिफ्ट माग्ने काम पनि नगरौं । विरामी अशक्त, बृद्द वृद्दालाई प्राथमिकतासाथ लिफ्ट दिउँ । देश विपतमा छ सहयोग गरौ । सकारात्मक बनौ । सकारात्मक अभियान भनेको सकारात्मक विचार राख्ने सबै नेपालीको अभियान हो ।’
यो भनाईबाट शान्ताले आम नेपाली भारतसामू कुनै हालतमा नझुक्न अपील समेत गर्नुभएको छ । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै भारतले हप्ता दिनदेखि नेपालमा अघोषित नाकाबन्दी लगाएका बेला शान्ताको कडा प्रतिक्रिया आएको हो ।
स्रोत : दैनिक नेपाल

No comments: