LATEST NEWS

‘माफ गर छोरी, आउन पाइँन’

Posted by Unknown ~ Sunday, 4 October 2015

प्यारी छोरी नम्रता, अपार माया र प्रेम अनि सम्झना । नम्रता, मनमनै गुम्सिएका र बहकिएका मेरा भावनाहरू कहाँबाट, कसरी सुरुवात गरौं ? दुबिधामा छु । खैर, आज यो बिरानो मुलुकबाट तिम्रो सम्झनाले सताएर यो पत्र लेख्न विवश छु । तिमीलाई मैले गर्ने माया र ममता यो पत्रमा लेखेर व्यक्त गर्ने त्यति शब्द पनि छैनन् । लेख्न पनि सक्दिँन । यो मायालाई नाप्ने र तौलने यन्त्र पनि बनेका छैनन् ।भइदिएको भए यति केजी छ भनेर पठाउँथे । जेहोस् तिमीप्रति मेरो प्रगाढ माया र प्रेम छ । सर्बप्रथम आराम छु । तिमीलगायत सम्पूर्ण घरपरिवार, छरछिमेकको आरामको कामना गर्दछु । पत्र लेख्नाको खास कारण केही नभएतापनि प्यारी छोरी नम्रताको असिमित याद एकछिन थाम्नका लागि र बहकिइरहेको मनलाई शान्त पार्न यो सेतो कागजमा कालो अक्षरले मनमा उब्जेका तिमीप्रतिका केही भावनाहरू पत्रमार्फत् व्यक्त गर्न गइरहेकी छु । पत्रको सुरुवात म तिम्रो पढाइबारे गर्न चाहान्छु । छोरी नम्रता, तिमीले प्राथमिक र निमावि तह सकाएर अहिले प्रवेशीका परीक्षा (एसएलसी) को लागि पढिरहेकी छौ । अहिलेको समयमा एसएलसीलाई आधारभूत शिक्षाका रुपमा लिइन्छ । अझ यसलाई फलामे ढोका पनि भन्ने गरिन्छ । जुन ढोका तोडिसकेपछि अन्य ढोकाहरू स्वतः खुल्छन । हो छोरी नम्रता, त्यसैले अहिलेदेखिनै तिमीले पढाइमा धेरै मेहनत गर्नुपर्छ । यो संसारमा जे जति प्रसिद्ध मान्छे भए ति सबै पढाइका कारणले भए । अल्बर्ट, आइस्टाईन उत्तिकै महान बैज्ञानिक बनेका होइनन् । राम्रोसँग पढेर तथा हरेक परिस्थितिसँग जुधेर, साना मसिना समस्याहरूलाई सहज तरिकाले टार्दै अनि मेहनत, परिश्रम, लगनशीलता, नियमितता र त्यागका कारण उनीहरू त्यहाँसम्म पुगेका हुन् । केही पाउन र जान्नका लागि त्यहीअनुसारको त्याग र बलिदान पनि गर्नुसक्नुपर्छ हैं, छोरी । हेर नम्रता, फ्लोरेन्स नाईटिंगेल उत्तिकै ‘लेडी विद् द ल्याम्प’ भनेर चिनिएकी हैनन् । उनको पनि त त्यहीअनुसारको परिश्रम र मेहनत छ । साँच्चै छोरी तिमीले पनि त एसएलसी सकेपछि चाहे डाक्टर भएर होस् या इन्जिनियर भएर वा कृषक भएर समाजका लागि राम्रो सहयोगी, देश र जनताप्रति बफादार नागरिक भएर अग्रणी भूमिका निभाउन सक्ने हुनुपर्छ । नम्रता, तिम्रो सपना साकार पार्न भनेर हरेक कुरालाई तिलाञ्जली दिँदै म यो बिरानो मुलुकमा आएकी हुँ । तिम्रा लागि म यहाँ दिन रात मेहेनत गरिरहेको तिमीलाई अगवत नै छ । तिमीले त्यस्तो कुनै चिन्ता नगर्नु, जुन चिन्ताले तिम्रो पढाईलाई असर पार्ने काम गर्छ । मलाई थाहा छ, ‘तिमी आफ्नो लक्ष्य र मेरो सपना पूरा गर्नेछौ । माफ गर नम्रता, म तिमीसँगै नहुँदा तिमीलाई अभिभावकत्वको कमी भयो होला । तर, तिमीलाई सधै अभिभावकत्वको कमी हुन नदिई अहोरात्र तिम्रा हरेक सुःखदुःखमा साथ दिई सहयोग गर्ने हुमा मामु अनि तिम्रा हजुरबुबा र हजुरआमा नै तिम्रो असली अभिभावक हुन् । उहाँहरूको सुझाव र सल्लाह सधैं शिरोधार्य गर्नु ल । म यहाँ जे जस्तो अवस्थामा छु तिम्रै लागि छु । त्यसैले तिमीले आजैदेखि आफू र देशको भविष्यलाई कसरी अगाडि बढाउने भन्ने बारे सोच्न आवश्यक छ । जीवनमा आफ्नो लक्ष्य प्राप्तिका लागि परेर उद्देश्य पूरा गर्नु । मामुको अभाव महसुस कहिल्यै नगर्नू । तिमीलाई सहयोग र साथ दिने ठूलो हृदय भएकी हुमा मामु, हजुरबुबा, हजुरआमा छदैछन् । उनीहरूको कुरा सधैं पालना गर्नु । उनीहरूले दिएका वचन तिम्रा मार्गदर्शन हुनेछन् । नम्रता, यतिखेर हाम्रो खेतमा धानका बाला लहलह होलान् है । गाउँघरका सबैजना धान भित्राउन ब्यस्त होलान् । मलाई पनि यतिखेर ती धानका भारी र परालसँगै उकालीओराली गर्ने मन नभएको कहाँ हो र ? तर, घरको अवस्था र बाध्यताले सबै कुरालाई तिलाञ्जली दिँदै आज सात समुन्द्र पारीको यो बिरानो मुलुकमा यादहरूका पराकम्पनले छटपटाउनुको बिकल्प पनि त छैन । अब त हामी नेपालीहरूको महान पर्व दशैतिहार पनि आउनै लाग्यो । हेरन छोरी, यो वर्ष पनि म तिमीसँगै बसेर दसैँतिहार मनाउन नपाउने भए । अर्काको देशमा आफूले सोचे र भने जस्तो कहाँ हुन्छ र ? जब मानिसले घर छोडेर टाढा जान्छ, त्यसपछि आफ्नो बास्तविक जिन्दगीका बारेमा थाहा हुनेरहेछ । तिमीसँग यो दसैँमा पक्कै आउँने र आफ्नै हातले टीका जमरा लगाई दिउँला भनेर बाचा गरेकी थिए तर मेरी प्यारी नम्रता माफ गर– बिदेशको बसाइँ कहाँ भने जस्तो र मनले सोचेजस्तो हुन्छ र ? मामु आइनन् भनेर सानो मन नबनाउनु । घरका सबैसँग ठूलो हृदय बनाइ यो परदेशी मामुलाई सम्झेर खुशी साथ दसैँतिहार मनाउनु ल । अनि लाटी तिमीलाई थाहा छ नि ? हाम्रो हिन्दू परम्परा र संस्कृतिअनुसार मान्छेले वर्षको एकपटक भुइँ छोड्नुपर्छ रे । त्यसैले हाम्रो घरमाथिको स्कुल नजिकै डोरीको पिङ बनाएर गाउँघरका सबै सँगै मिलेर चचहुईई… गर्दै पिङ खेल्नु । हाम्रो घरका अलावा मामा घर पनि गएर हजुरबुवा हजुरआमाबाट पनि आशीर्बाद लिन नबिर्सनु नी । तिमी गएनौं भने उहाँहरू साह्रै दुःखी हुनुहुनेछ । दुःख, आँशु, पीडा, बेदना, हाँसो अनि खुसी के हो ? सबै कुरा बिरानो ठाउँमा हुँदा थाहा हुँदोरहेछ । एउटी आमाले आफ्नो बच्चालाई नौ महिनासम्म गर्भमा बोकी ५ वर्षको उमेरमा बाध्यता र परिस्थिति बस टाढा हुँदा कुन चाहिँ आमाको मन हाँस्ला र ? त्यो पीडा त म जस्ता आमाहरूलाई मात्र थाहा होला । त्यही भएर छोरी नम्रता, तिमीले पढेर आफ्नै देशमा केही गर्नुपर्छ हैं । यतिखेर तिम्रो सम्झनाले मलाई अति नै सताइरहेको छ । चाँडबाँड जति नजिकिन्छन् उति यो मन बेहाल बेचैन हुन्छ । भर्खरै तीज पनि आयो, गयो । तिमीलाई मेरो हातले दर पकाएर नखुवाएको पनि १० वर्ष भएछ है । त्यो क्षण सम्झदा आँखाबाट आँशु वर्षन्छ तर के गर्नु छोरी ? यसरी प्रदेशिनु मेरो रहर होइन बाध्यता हो । तिम्रो मामुसँग बिदेशिनुको बिकल्प पनि थिएन । मेरो बिदेशिनुको बाध्यता जब तिमी बुझ्ने हुनेछौं अनि एक दिन सबै कुरा सबिस्तार बताउँनेछु ल । आशा छ तिमीलगायत गाउँघरका सबैले राम्रैसँग तीज मनायौं होला । मैले पनि यहाँ सबै नेपाली दिदीबहिनीहरूसँग भेला भएर मनाए । तीजमा मामा घर जान पाईन् भनेर दुखेसो गरेकी थियौ । यसपटक समय र परिस्थितिले यस्तै भयो । अर्को वर्ष मामुसँगै मामा घर गएर तीज मनाउँला नी हुँदैन र ? प्यारी छोरी नम्रता, २०७२ साल नेपाली जनताका लागि एकदमै सुःख र दुःखको वर्ष भएको छ । गत वैशाख १२ गते आएको भूकम्प नेपाल र नेपालीका लागि सबैभन्दा दुखद् क्षण बन्यो । जुन भूकम्पमा परि हजारौ नेपालीले ज्यान गुमाए । सयौं बेपत्ता भए । सदियौं पुराना ऐतिहासिक धरोहर सदाका लागि ढले । तर, असोज ३ गते भने नेपालीहरूको खुशीको दिन बनेर आयो । त्यो दिन जब राष्ट्रपति डा. रामबरण यादवले सदियौंदेखिको हामी नेपालीहरूले आफ्नो संविधान आफैँ बनाउने चाहाना पूरा भएको भनेर नेपालको संविधान २०७२ घोषणा गरे त्यसपछि आमनेपालीको आँखामा खुशीको आँशु पिल्पीलायो । संविधान जारीसँगै नेपाली जनतामा भूकम्पले त्रसित र छियाछिया परेका मनहरूमा शान्ति मिलेको आवास भयो । त्यसपछिको खुशी नेपालीहरूले मनभित्रै मात्र सीमित नराखी टोलटोलमा, चोकचोकमा दीप प्रज्वलन गरी मनाइरहेको टेलिभिजन सेटमा हेरिरहँदा अब देशले काँचुली फेर्ने भो भनेर मेरा आँखाबाट पनि खुशीका आँशु नआइरहन सकेनन् । अब त हामी नेपालीहरूको महान पर्व दशैतिहार पनि आउनै लाग्यो । हेरन छोरी, यो वर्ष पनि म तिमीसँगै बसेर दसैँतिहार मनाउन नपाउने भए । अर्काको देशमा आफूले सोचे र भने जस्तो कहाँ हुन्छ र ? जब मानिसले घर छोडेर टाढा जान्छ, त्यसपछि आफ्नो बास्तविक जिन्दगीका बारेमा थाहा हुनेरहेछ । नम्रता, अबको नेपाल बास्तविक नेपाली जनताको हो । १०४ वर्षे राणा शासन र त्यसपछिको शाही शासन लगायतका शासनब्यवस्था सदाका लागि अन्त्य भएका छन् । आसा छ, नेपालीको चाहाना र मागलाई परिपूर्ति गर्न सहयोग गर्ने यस संविधानले तिमी हामीजस्ता नेपालीको इच्छा पूर्ति गर्नमा कोसेढुंगा सावित हुनेछ । हेर नानी, मान्छले जन्मेपछि समाज र राष्ट्रका लागि केही न केही गर्नुपर्छ । जो मान्छे सामाजिक काम गरी अगाडि बढ्छ ऊ मान्छे नै महान हुन्छ । मनभित्रका स्वार्थी भावना हटाउनुपर्छ । स्वार्थी भावनाले मानिलाई प्रगतिबाट रोक्छ । म यहाँ जे जस्तो अवस्थामा छु तिम्रै लागि छु । त्यसैले तिमीले आजैदेखि आफू र देशको भविष्यलाई कसरी अगाडि बढाउने भन्ने बारे सोच्न आवश्यक छ । जीवनमा आफ्नो लक्ष्य प्राप्तिका लागि परेर उद्देश्य पूरा गर्नु । मामुको अभाव महसुस कहिल्यै नगर्नू । तिमीलाई सहयोग र साथ दिने ठूलो हृदय भएकी हुमा मामु, हजुरबुबा, हजुरआमा छदैछन् । उनीहरूको कुरा सधैं पालना गर्नु । उनीहरूले दिएका वचन तिम्रा मार्गदर्शन हुनेछन् । प्यारी छोरी नम्रता, तिमी मेरो लागि छोरासरह छौं । मात्र एउटा चिन्ता छ– तिमीलाई समाजको उदाहरण कसरी बनाउने बारे । तिमी सधैँ खुशी रहनु, आफ्नो मामुलाई सम्झेर नरुनु । अन्तमा तिम्रो मामुका अधुरा सपना साकार पार्नेछौँ । दीनदुःखीको सेवामा सँधै जीवन समर्पित गर्नेछौँभन्दै आउँदै गरेको विजयादशमी तथा शुभदीपावलीको शुभकामना । प्यारी छोरी नम्रता, अहिलेलाई चिठी यहीँ बन्द गर्न चाहन्छु ।
हवस् त……… तिमीलाई माया गर्ने मामु दीया चापागाइँ (राधिका तिवारी)
पर्वत, नेपाल हाल इजरायल
स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply