LATEST NEWS

जम्दैछन् नेपाली चेलीहरु यूएईमा

Posted by Daily News Pokhara ~ Saturday, 17 October 2015

दुबई । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरुको सहज गन्तव्य यूएईमा नेपाली व्यावसायीहरु पनि दिनानुदिन बढिरहेका छन् । ट्याक्स फ्रि, खुल्ला अर्थनीति र पर्यटनका लागि विश्वको एक गन्तव्य बनिरहेको यूएईमा नेपाली व्यावसायीहरुले उल्लेख्य आर्थिक सफलता पाइरहेका छन् ।करिब २ सय नेपालीहरुले रेस्टुरेन्ट, ग्रोसरी, कन्स्ट्रक्सन, क्लिनिङ, ट्राभल एजेन्सी, इलेक्ट्रोनिक एसेसोरिज, म्यानपावर, ब्युटीपार्लर लगायतका क्षेत्रमा आफैले लगानी गरेका छन् । आफ्नो अनुभवको क्षेत्रमा लगानी गरेका अधिकांश नेपाली व्यावसायीहरुले राम्रै आम्दानी गरिरहेका छन् ।दुबईमा कार्यरत नेपालीहरुले नेपाली बिजनेस काउन्सिल गठन गरी यहाँको सरकारी संयन्त्रमा औपचारिक रुपमा दर्ता गर्ने लक्ष्यका साथ नेपाली व्यावसायीहरु संगठित हुँदै गएका छन् । यूएईमा व्यापार व्यावसाय गरिरहेका अधिकांश नेपालीहरुको पृष्ठभूमि कामदारको पाइएको छ । सुरुमा सामान्य श्रमिकका रुपमा आएर सम्बन्धित क्षेत्रको ज्ञान हासिल गरेपछि आफैं व्यापार व्यावसायमा लगानी गरेको पाइन्छ ।यूएईमा व्यापार गर्ने अधिकांश पुरुषहरु छन् भने पछिल्लोपटक नेपाली महिलाहरु पनि आफैं लगानी गरी पुरुषहरुभन्दा कमजोर नभएको सावित गर्दैछन् । सफल महिला व्यवसायी तथा दानवीर व्यक्तित्वको रुपमा बुटबलकी दीपा पाण्डे युएईको नेपाली समुदायमा उदाहरणीय व्यक्तित्वको रुपमा चिनिन्छिन् भने पछिल्लोपटक उनकै मार्गमा देखापरेकी छिन्, गुल्मेली चेली सरस्वती पौडेल । कुनै समय गुल्मीकै स्थानीय रेडियोमा महिला जागरण, उद्यमशीलता र सशक्तीकरण सम्बन्धी कार्यक्रम उत्पादन तथा प्रशारणको काम गरेकी सरस्वती आजभन्दा पाँच वर्ष अघि ब्युटिसियनका रुपमा दुबई आएकी हुन् ।यूएईमा कामदारका रुपमा आएपछि उनको रेडियोकर्मले निरन्तरता नपाए पनि आफ्नो क्षेत्रमा कसरी सफल बन्ने भन्ने भित्री इच्छा कहिल्लै मरेन । नेपालमा रहँदा रेडियोमा काम गर्दा पाएको सफलता र विभिन्न सफल महिलाहरुसँग लिएको अन्र्तवार्ताले उनमा पनि एउटा दह्रो आत्मविश्वास जगाएकै थियो ।यूएईबाटै रेडियोकर्मलाई निरन्तरता दिने उनको सोच त थियो तर प्राविधिक समस्या तथा समयको अभावका कारण उनको रेडियोप्रेम मर्दै गयो । रेडियोपे्रम मरे पनि ब्युटिसियनको क्षेत्रमा कसरी सफल हुने भन्ने हुटहुटीले उनलाई कहिल्यै छाडेन । उनलाई के पनि थाहा थियो भने एकै समयमा दुई वटा डुंगामा सयर गर्नुहुँदैन ।उनका सपना त नर्स बनी समाजसेवा गर्ने थियो । तर, समयले सपनाहरुको महल ढलाइदियो । रेडियोमा बोलेर मात्रै उनको गर्जो टरेन । सपनाहरु मनमै साँचेर खाडी हान्निए पनि उनको अधुरो सपना छोरी रोजीले पूरा गर्न लागेकी छिन् जो नर्सिङको पढाइ पूरा गर्न लाग्दै छिन्, सन्जिबनी नर्सिङ कलेज बुटवलमा । दैनिक रुपमा कस्टमरबाट पाएको टिप्स उनी समाजसेवाको लागि छुट्याउँछिन् । कोही दुःख पाएको उनी रहिरहन सक्दिनन् । नेपालमा बाढीपहिरोले गाउँ नै सोहोर्दा होस्, या भूकम्पले देशै ध्वस्त पार्दा होस् । उनी सहयोग संकलनमा अग्रणी भूमिकामा रहेकी छिन् । व्यक्तिगत रुपमा अलपत्र परेका नेपाली हुन् या बिरामी परेका जो कोहीलाई सकेको सहयोग गर्न उनी अग्रसर रहन्छिन् । दुबईमा क्रियाशील गुल्मी सेवा समाजका विभिन्न परोपकारी अभियानमा सरस्वतीको सहभागिता देख्न सकिन्छ ।दुबई प्रवेशका सुरुका दिन त्यति सहज नभएको उनको अनुभव छ । नेपालमा सिकेको सीपले काम नगर्ने भएका कारण आवश्यक कला, सीप र प्रविधिको ज्ञान हासिल गर्दै गइन् । उनी आफ्नै पेसागत क्षेत्रमा दत्तचित्त भएर लागिन् । काम गर्दा अर्काको लागि नभई आफ्नै लागि सम्झेर गरिन् ।काममा लगाव, व्यावहारमा इमानदारिता, समयको उचित पालना, प्रस्टवक्ता जस्ता उनका गुणहरुले यूएई आएको तीन महिनामै पुराना विदेशी सहकर्मीलाई पछाडि पार्दै आफूले काम गर्ने सैलुनको इन्चार्जको जिम्मेवारी सम्मालेको अनुभव सरस्वतीले सुनाइन् । जसै काम गर्दै गइन्, सैलुनको व्यापार बढ्दै गयो । ग्राहकसँगको सुमधुर सम्बन्धलाई उनले जोड दिँदै गइन् । काममा पाएको सफलताले उनमा आफैं व्यावसाय गर्ने इच्छा बढ्दै गयो । आफ्नो क्षेत्रमा कसरी सफल हुने भन्ने सपना उनले देख्दै गइन् ।सपना अनुरुप आवश्यक कानुनी तथा प्राविधिक पक्ष तथा आर्थिक पक्षलाई सबल बनाउँदै लगिन् । परिवारको सपोर्ट र यूएईमा रहेका आफ्ना महिला मित्रहरुको सहयोग तथा समर्थनमा उनी एक सैलुन किनेर आफै चलाउने भएकी छिन् । श्रमिकबाट उनको परिचय फेरिएर व्यावसायीको भएको छ । गुल्मेलीहरुबीच मात्र होइन, यूएईका करिब चार लाख नेपालीहरुको बीचमा उनी प्रेरणाकी श्रोत बनेकी छिन् । बरदुबईको किनमेलको केन्द्र मानिने मीनाबजारमा गेट गर्जियस नामको सैलुनको उद्घाटन गर्न सफल भएकी छन् उनै गुल्मेली चेली । गत १६ अक्टोबरको दसैंको नवरात्रको दिनका केही सीमित नेपालीहरुमाझ उनले सैलुनको उद्घाटन गरेकी छिन् । जसै उनी व्यावहारमा सामान्य छिन्, सैलुनको उद्घाटन पनि कुनै तामझामबिना सामान्य ढंगले गरिन् । उनले सैलुनको उदघाटनका दिन जम्मा भएको सबै रकम च्यारिटीमा प्रदान गर्ने बताएकी छिन् भने सैलुनको कुल नाफाको निश्तिच प्रतिशत रकम मानवीय सहयोगका लागि समर्पण गर्ने घोषणा पनि गरेकी छिन् ।उनी यो स्थानसम्म आउन धेरै दुःखकष्ट गरेको लामो कथा छ उनीसँग । पैसा त धेरैसँग हुन्छ । तर, उनी पैसाभन्दा आत्मविश्वासले यहाँसम्म आएको बताउँछिन् । सफल हुनका लागि काममा दक्षता र इमानदारिता आवश्यकता रहेको उनको बुझाइ छ । उनको सफलता भनेको एक गुल्मेली चेलीको मात्र नभएर सम्पूर्ण नेपाली चेलीको सफलता हो । उनले जसरी आफ्नो क्षेत्रमा सफल बन्दै जाने हो भने यूएईमा नेपाली महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने थियो|

Categories
Tags

Related Posts

No comments:

Leave a Reply