LATEST NEWS

एमाओवादी विवाद

Posted by Unknown ~ Wednesday, 14 October 2015

एमाओवादीभित्र मन्त्रीका आकांक्षी बढेपछि सरकारमा जाने टोलीको टुंगो लाग्न सकेको छैन । सभामुखका उम्मेदवार र सरकारमा जानेहरू तय गर्न अध्यक्ष पुष्पकमल दाहालनिवास लाजिम्पाटमा बुधबार बसेको स्थायी समितिको बैठक निष्कर्षविहीन भयो । शुक्रबार हुने सभामुखको निर्वाचनका लागि बिहीबार २ बजेसम्म मनोनयन दर्ता गरिसक्नुपर्नेछ । ‘छलफल जारी छ तर टुंगिसकेको छैन । भोलि बिहान फेरि स्थायी समिति बैठक बसेर टुंग्याउने कुरा भएको छ,’ स्थायी समिति सदस्य अग्नि सापकोटाले बुधबार भने । एमाओवादीले सभामुख, उपराष्ट्रपति र उपप्रधान तथा गृहमन्त्रीसहित ८ मन्त्रालय लिने गरी एमालेसँग सहमति भएको दाबी गरेको छ । एमाओवादीबाट कृषिमन्त्रीका रूपमा हरिबोल गजुरेलले सोमबारै शपथ लिए पनि सरकारमा पार्टीको नेतृत्व कसले गर्ने र को–को मन्त्री बन्ने टुंगो लागेको छैन । एमाओवादीले यसअघि सभामुखमा महासचिव कृष्णबहादुर महरालाई अघि बढाउने तयारी गरे पनि उनी इच्छुक छैनन् । महरालाई सभामुखमा पठाएर पार्टीबाट सरकारको नेतृत्व गर्न वरिष्ठ नेता बाबुराम भट्टराई पार्टीमा छँदा उनका ‘खास’ मानिएका सचिव टोपबहादुर रायमाझीलाई पठाउने तयारी थियो । तर महराले सभामुखभन्दा उपप्रधान तथा गृहमन्त्रीका रूपमा पार्टीबाट सरकारमा आफैंले नेतृत्व गर्ने इच्छा देखाएपछि अध्यक्ष दाहाल अप्ठ्यारोमा परेका छन् । सभामुख बन्दा पार्टी महासचिव पनि त्याग्नुपर्ने र राजनीतिक ‘करिअर’ बिग्रने भन्दै महराले अनिच्छा व्यक्त गरेका हुन् । अध्यक्ष दाहाल स्थायी समिति सदस्य शक्ति बस्नेतलाई गृहमन्त्री बनाउन चाहन्छन् । एमाओवादीबाट मन्त्री बन्नेको सूचीमा रायमाझी, बस्नेत र गजुरेलबाहेक नन्दकिशोर पुन, अग्नि सापकोटा, राम कार्की, महिलाबाट ओनसरी घर्ती वा रेखा शर्मा, मधेसी समुदायबाट शिव मण्डल, उमेश यादव र सुरेन्द्र जयसवालमध्ये एक, थारू समुदायबाट गौरीशंकर चौधरी र सन्तकुमार थारूमध्ये एकको चर्चा छ । मन्त्री बन्न स्थायी समिति सदस्य जनार्दन शर्मालगायतले इच्छा जनाएका छन् । सार्वजनिक लेखा समिति सभापति रहेका उनले अब त्यो पद त्याग्नुपर्ने भएकाले मन्त्रीमा इच्छा जनाएका हुन् । लेखा समिति प्रमुख विपक्षी दललाई दिने परम्परा छ । एमाओवादीले मन्त्री बनाउने तयारी गरेकामध्ये पूर्वलडाकु कमान्डर पुन सांसद छैनन् । तर उनले मन्त्री नपाए पार्टी त्याग्ने चेतावनी दिएपछि मन्त्रिपरिषदबाट मनोनीत गरी सांसद बनाएर भए पनि मन्त्री बनाउने तयारी भएको एक नेताले बताए । ‘यसअघि मनोनीत कसैलाई फिर्ता बोलाएर भए पनि उहाँलाई सांसद बनाउने कुरा भएको छ,’ स्रोतले भन्यो । संवैधानिक रूपमा त्यसो गर्न नमिले उनलाई उपराष्ट्रपति बनाउने आश्वासन दिइएको छ । महरा अनिच्छुक भएपछि सभामुखको उम्मेदवारको पनि खोजी भइरहेको छ । सभामुखमा पार्टी सचिव तथा दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेलको नाम पनि चर्चामा छ । मन्त्री बन्नेको सूचीमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षधर कोही नभएकाले उनीनिकट पोखरेललाई सभामुख बनाउने विषयमा छलफल भएको छ । स्रोत : ओ यस नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply