LATEST NEWS

कडा प्रतिकार आन्दोलन सुरु

Posted by Unknown ~ Thursday, 8 October 2015

रुपन्देहीको बेलहियास्थित नेपाल भारत सिमानामा मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा नेपाली युवकको हात काटेर हत्याको प्रयास भएपछि चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले मुलुकमा सामाजिक सद्भाव कायम गर्न प्रतिकार गर्ने भएको छ । मधेसी मोर्चाको आन्दोलन दिनप्रति दिन हिंसात्मक हुँदै गएको र मिलेर बसेका नेपालीहरुबीच साम्प्रदायिकता बढाउने कार्य गरेको भन्दै चुरे भावर पार्टीले त्यसका विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । चुरे भावर पार्टीको आज (बिहीबार) काठमाडौंमा बसेको हाइकमान्डिङको आकस्मिक बैठकले आन्दोलन गर्ने निर्णय गरेको अध्यक्ष बद्री न्यौपानेले जानकारी दिनुभयो । ‘मधेस आन्दोलनप्रति हाम्रो कुनै रिसराग छैन’, उहाँले भन्नुभयो, ‘सुरुवाती दिनमा शान्तिपूर्ण मधेस आन्दोलन पछिल्लो समयमा भारतीयको बुइचढेर हिंसात्मक बनेको छ । त्यसबाट हामी चिन्तित बनेका छौं ।’ बेलहिया नाकामा सामान किन्न भारतीय बजारमा पुगेका कृष्ण क्षेत्रीलाई मधेसी मोर्चाका कार्यकर्ताले बुधबार धारिलो हतियार प्रहार गरेर हात काट्नुका साथै हत्याको प्रयास गरेका थिए । बेलहिया नाकाको बुधबारको प्रदर्शन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेतृत्व गर्नुभएको थियो । सदियौँदेखि मिलेर बसेका पहाडे, मधेसी, थारु, मुस्लिम आदि जातजातिबीच केही तत्वले विदेशीको बुइचढेर साम्प्रदायिकता मच्चाउन थालेपछि सामाजिक सद्भाव कायम गर्न प्रतिकारमा उत्रनु पर्ने बाध्यता आएको अध्यक्ष न्यौपानेले बताउनुभयो । उहाँले भोलिदेखिनै तराईका विभिन्न जिल्लाहरुमा आफूहरुको प्रतिकार आन्दोलन सुरु हुने चेतावनी दिनुभयो । सदियौँदेखि मिलेर बसेका नेपाली जनताविरुद्ध हुने कुनै पनि आन्दोलन वा हिंसाको चुरे भावर एकता पार्टीले आजैदेखि डटेर सामना गर्ने उहाँले बताउनुभयो । उहाँले विगतमा सरकारले आफूहरुसँग गरेका सम्झौता कार्यान्वन गर्न पनि माग गर्नुभयो । ‘सरकारले हामीसँग गरेको सम्झौतालाई भूलेको छ’, उहाँले भन्नुभयो, ‘अरु विभिन्न समूहलाई राज्य दिइन्छ भने हामीलाई पनि पूर्वसहमतिअनुसार चुरे भावर प्रदेश दिइनुपर्छ ।’ अध्यक्ष न्यौपानले आफ्ना प्रतिकार आन्दोलना, पार्टीका निर्णय तथा भावी कार्यक्रमका विषयमा भोलि शुक्राबार मध्यान्ह १२ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताउनुभयो । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply