LATEST NEWS

राज्यलक्ष्मीले माफी मागिन

Posted by Unknown ~ Tuesday, 27 October 2015

सांसद पद खुस्कने भएपछि आफ्नै पार्टीका नेताहरुलाई अनेक आक्षेप लगाएकी नेकपा एमालेकी सांसद राज्यलक्ष्मी गोल्छाले दुई दिनमै बोली फेरेकी छिन् । नेकपा एमालेका विभिन्न नेताहरुलाई ठूलो रकम चन्दा दिएको भन्दै अन्तरवार्ता दिएकी सांसद गोल्छाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै बोली फेरेकी हुन् । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र सचिव गोकर्ण विष्टलाई व्यक्तिगत रुपमा कुनै आर्थिक सहयोग नगरेको र अन्तरवार्तामा पनि उनीहरुको नाम नलिएको भन्दै गोल्छाले भनेकी छिन् – ‘मैले गोकर्ण विष्टज्यू र महासचिव ईश्वर पोखरेलज्यूका बारेमा कुनै किसिमको टीका टिप्पणी गरेकी छैन ।’ आफूले भन्दै नभनेको कुरा मिडियामा आउँदा दुःख लागेको भन्दै उनले पत्रकार सम्मेलनमा माफी समेत मागिन् । गोल्छाले सभासद् बन्नका लागि कोही नेतालाई व्यक्तिगत रुपमा सहयोग नगरेको पनि प्रष्ट पारेकी छिन् । उनले मंगलबार पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ- ‘मैले सभासद् पद पाउनका लागि आर्थिक सहयोग दिएको होइन, मेरा पतिले गरी आएको मुल्यांकनलाई कदर गरी मलाई समानुपातिक सभासद् बनाइएको हो ।’ यसअघि गोल्छाले नामै किटेर एमाले सचिव गोकर्ण विष्टलाई १० लाख रुपैँया र ईश्वर पोखरेललाई सहयोग गरेको भन्ने अन्तरवार्ता एउटा अनलाइनमा प्रकाशित भएको थियो । एमाले सचिव विष्टले भने त्यसैदिन गोल्छाको भनाइको प्रतिवाद गरेका थिए । गोल्छाले एमालेका वरिष्ठ नेता एवं पूर्वअध्यक्ष झलनाथ खनाललाई समेत पाँच करोड रुपैँया दिएको बताएकी थिइन् । तर, वरिष्ठ नेता खनालले मंगलबार नै प्रेस विज्ञप्ति जारी गरी आफूले व्यक्तिगत रुपमा गोल्छाबाट केही सहयोग नलिएको स्पष्ट पारेकी थिइन् । खनाल पार्टी अध्यक्ष भएकै बेला गोल्छा सभासद बनेकी थिइन् । गोल्छाले पनि आफूले व्यक्तिलाई भन्दा पनि पार्टीलाई सहयोग गरेको स्पष्ट गरेकी छिन् । तर, पार्टीलाई गरेको सहयोगको मुल्यांकन नभएको उनको गुनासो छ । स्रोत : दैनिक नेपाल

Categories
Tags

Related Posts

No comments:

Leave a Reply