कांग्रेस सभापति सुशील कोइरालाको सफल उपचार, अब क्यान्सरबाट मुक्त
काठमाडौं, २५ कात्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइराला क्यान्सर मुक्त हुनुभएको छ ।
उहाँको साथमा रहनु भएका उहाँका स्वकीय सचिव अतुल कोइरालाले आज बिहान टेलिफोनबाट दिएको जानकारी अनुसार संयुक्त राज्य अमेरिकाको मेमोरिएल स्लोन केटरिङ क्यान्सर सेन्टरका चिकित्सकले उहाँको स्वास्थ्य परीक्षण प्रतिवेदन हेरेपछि उहाँ क्यान्सर मुक्त हुनुभएको बताएका हुन् ।
न्यूयोर्कमा सभापति कोइरालाको छाती, जिब्रो र घाटीको एक्सरेसहित अन्य परीक्षण गरिएको थियो । स्वकीय सचिव कोइरालाका अनुसार चिकित्सकहरुले उहाँ ‘फिट एण्ड फाइन’ भएको बताएका छन् । सेन्टरका वरिष्ठ चिकित्सक डा. मञ्जित बेन्सको नेतृत्वमा उहाँको स्वास्थ हुँदै आएको थियो ।
उहाँको साथमा रहनु भएका उहाँका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार नोभेम्बर ९ मा सभापति कोइरालाले केन्द्रमा स्वास्थ्य परीक्षण गराउनु भएको थियो । त्यसको रिपोर्ट नोभेम्बर १०(स्थानीय समय अनुसार)मा प्राप्त भएको थियो । डाक्टरहरुले उहाँलाई ६ महिनामा पुनः रिपोर्ट गर्न सुझाव दिएका छन् ।
न्यूयोर्कबासी नेपालीसंग भेट
नेका सभापति कोइराला साँझ(१० नोभेम्बर साँझ) नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरद्धारा आयोजित स्वागत कार्यक्रम र रात्रीभोजमा सरिक हुनु भएको थियो ।
उहाँले स्वागत कार्यक्रममा संविधानसभाबाट संविधान ल्याउन सक्नु ऐतिहासिक उपलब्धि भएको बताउदै तराई मधेश समस्याको समाधान आपसी सम्वादको माध्यमबाट हुनु पर्ने बताउनुभयो । उहाँले समस्याको शान्तिपूर्ण समाधान गरी मुलुकको सार्वभौमिकता, अखण्डता र एकता कायम गर्दै शान्ति, स्थायित्व र विकासका लागि आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले संविधान संशोधनको विधेयक व्यवस्थापिकामा दर्ता गराएको पनि उल्लेख गर्नभएको थियो ।

No comments: