चीन गएर भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबारे के भने ?
हाल चीन भ्रमणमा रहेका भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबारे सोधिएको प्रश्नको सामना गर्नुपरेको छ ।
भारत र चीनबीच पहिलोपटक सुरक्षा सम्बन्धि विभिन्न मुद्दामा सहयोग र समन्वय बढाउने सम्झौता गर्न बेइजिङ पुगेका सिंहमाथि चिनियाँ सञ्चारकर्मीले भारतले नेपालमाथि लगाएको नाकाबन्दीबारे सोधेका थिए ।
जवाफमा भारतीय गृहमन्त्री सिंहले नेपालमा जारी आन्दोलनका कारण भारतले आपूर्ति गर्न नसकेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले नेपालमा आन्दोलन रोकिएसँगै आफूहरु आपूर्ति गर्न तयार रहेको तर, भारतले नाकाबन्दी गरेको भन्ने कुरा गलत भएको बताए ।
उनले भने- बोर्डरमा आन्दोलनकारी बसेका छन् । सुरक्षाको कारणले हाम्रा चालकले त्यहाँ जान मानेका छैनन् । नेपालले वातावरण बनाओस्, हामीलाई आपूर्ति गर्नमा आपत्ति छैन् ।
यस्तै, बेइजिङमा शुक्रबार सीमा आतंकवाद, तस्करी र मादक पदार्थ नियन्त्रणका लागि भारत-चीनले समझदारी गरेर अगाडि बढ्ने सम्झौता गरेका छन् । यसका लागि मन्तिस्तरीय समिति बनाउने निर्णय भएको समाचारमा जनाइएको छ । जसका लागि सिंहले बेईजिङमा चीनका प्रधानमन्त्री ली केकियांग र गृहमत्री गुओ शेंगकुनसँग छलफल गरेका थिए ।
सम्झौता अनुसार आंतकवादसँग लड्न दुबै देशले सहकार्य गर्ने भएका हुन् । मन्त्रिस्तरीय छलफलमा भने नेपालको नाकाबन्दीबारे कुरा उठेन् । (एजेन्सीको सहयोगमा)
स्रोत : दैनिक नेपाल

No comments: