जायज माग सम्बोधन गर्न सरकार तयार
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल संवत ११३६ न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “दुई जना सडकमा निस्केर करोडौँ नेपालीको भावना विपरीत माग राखेमा सरकारले सम्बोधन गर्न सक्दैन, नेपाललाई नोक्सान हुने विषयमा सरकारले काम गर्दैन, धेरै जनताले चाहेको माग पूरा गर्न सरकार उदार र फराकिलो छ” – उहाँले भन्नुभयो ।
नेपालीबाट नेपालकै भूमिमा सुरु भएको नेपाल संवत मौलिक भएको बताउँदै प्रधानमन्त्री ओलीले सामाजिक जीवन सहज र सरल बनाउन नेपाल संवतले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो – “नेपाल इतिहासदेखि नै आफ्नै गौरव र स्वाभिमानमा बाँच्दै आएको छ । यसले कहिल्यै अरुको उपनिवेश एवम् पराधीनता स्वीकारेन । नेपालको स्वाधीनता सगरमाथा जस्तै उँचो छ र रहिरनेछ ।”
भूकम्प र संविधान जारी भएपछिको नाकाबन्दीको समस्याबाट मुलुकलाई माथि उठाउन सबै दल एकजुट हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । यसका लागि नेपाली काँग्रेसलगायत सबै दललाई सरकारमा सामेल हुन उहाँले आह्वान गर्नुभयो ।
स्रोत : दैनिक नेपाल

No comments: