१४८ नेताले पार्टी छाड्दा प्रचण्डलाई अर्काे धक्का
४८ जना केन्द्रीय नेताले पार्टी छाडेको तेस्रो दिनमै एकीकृत नेकपा माओवादीका १४८ नेताले पार्टी परित्याग गरेका छन् ।
पूर्व नेता बाबुराम भट्टराईले निर्माण गर्न लागेको नयाँ शक्तिमा सहभागी हुन भन्दै विहीबार एमाओवादीका महेन्द्र श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका १४८ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
श्रेष्ठ काठमाडौंको समानान्तर कमिटीका जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर ५ का उम्मेदवार समेत हुन् । जिल्लाको बैठकको निर्णय अनुसार नै पार्टी परित्यागको घोषणा गरिएको नेता श्रेष्ठले जानकारी दिए ।
यसरी एकपछि अर्काे गर्दै नेताहरु बाबुरामको नयाँ शक्तिमा आकर्षित हुन थालेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शक्तिविहिन बन्ने खतरा बढेको छ । संगठन कमजोर हुने चिन्ता पनि प्रचण्डलाई हुन थालेको उनी निकट नेता बताउँछन् ।
बाबुरामको नयाँ शक्तिका लागि भनेर यसअघि देवेन्द्र पौडेलको नेतृत्वमा ४५ जना केन्द्रीय नेताले एमाओवादी छाडेको घोषणा गरेका थिए ।
स्रोत : दैनिक नेपाल

No comments: