LATEST NEWS

‘जाडोले राति ब्युँझेपछि रुन थाल्छन्’ बच्चाहरु हेर्नुहोस् भूकम्प पिडितहरुको यो पिडा

Posted by Daily News Pokhara ~ Sunday, 13 December 2015

गोरखा, २८ मंसिर । ४ आइतलीकी जितकुमारी गुरुङलाई भाइबहिनीले रातभरि रोएर सुत्नै दिँदैनन् । धेरैजसो रात आगो तापेरै बिताउने गरेको उनले सुनाइन् ।
‘जाडोले उनीहरू पनि निदाउँदैनन्, रोएर हामीलाई पनि सुत्न दिँदैनन्’, उनले भनिन्, ‘अनि उठेर आगो फुक्छौं। सबै परिवार आगो तापेर रात बिताउँछौं ।’
पर्म लगाएर बनाएको एउटा घर पनि भूकम्पले भत्काएपछि उनको १० जनाको परिवार गोठमा बस्दै आएको छ। ‘केही दिनदेखि चिसो बढेर गोठमा बस्नै नसक्ने भएको छु, उनले बाध्यता सुनाइन्, ‘लगाउने बाक्लो कपडा पनि छैन । ओढ्नेओछ्याउने पनि छैनन्।’ अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उनका दुईबर्से, चारबर्से, सातबर्से, दसबर्से, १३ बर्से, १५ बर्से र २१ बर्से भाइबहिनी छन् । ‘जाडोले राति ब्युँझेपछि रुन थाल्छन् । कोही खाना खाएर पल्टेदेखि ननिदाउन्जेल रोइरहन्छन्’, जितकुमारीले भनिन्, ‘केटाकेटी पालैपालो रुँदा ठूला मान्छेले सुत्नै पाइँदैन।’
उनको घरमा अलिअलि भएको अन्न पनि भूकम्पले पुरेको थियो। बारीमा अलिअलि भएको गहुँ पनि भित्र्याउने आँट नहुँदा अहिले सन्तानलाई पेटभरि खुवाउन समस्या भएको जितकुमारीकी आमा कान्छी गुरुङले बताइन् । ‘खेती गर्ने बेला हातमा काम आएन। किनेर खुवाउन कमाइ छैन’, उनले भनिन्, ‘यी लालाबालालाई अलिअलि भात र अलिअलि उसिनेको पिँडालु खुवाएर छाक टारेकी छु ।’
कान्छीको परिवार चित्राले बारेर र त्रिपाल ओढाएर बनाइएको गोठमा बस्दै आएको आठ महिना भएको छ। त्रिपालबाट शीत चुहिएर सुत्न समस्या भएको उनकी १३ बर्से छोरी मन्सिलाले बताइन् ।
‘कहिलेकहीं यस्सो झकाइहाल्यो भने आँखा र कानमा शीत परेर झस्काइदिन्छ’, मन्सिला भन्छिन्, ‘हामी त झस्केर ब्युँझिन्छौं। भाइबहिनीचाहिँ झस्केर रुन थाल्छन् ।’ बुबाआमाले ढुंगामाटो लगाएर छिट्टै न्यानो घर बनाउलान् र ढुक्कले बसौंला भन्ने आस छ उनलाई।
उनलाई बितेको सात महिनाभन्दा आउँदो दुई महिना कसरी बिताउने भन्ने चिन्ता छ । सरकारले घर बनाउन खर्च दिन्छ भन्ने आस पनि नलागेको कान्छी बताउँछिन् ।
‘सरकारले घर बनाइदिन्छ भन्ने त मेलापात जाँदा सुनेकी छु’, उनी भन्छिन्, ‘तर बनाइदिन्छ कि बनाइदिँदैन, राहत पाइन्छ कि पाइँदैन, केही थाहा छैन। मतलब पनि छैन । आस पनि छैन । छोराहरूले कहिले कमाउँछन् र घर बनाउँछन् हिमालय उच्चमाविमा पढ्ने कान्छीका आठ सन्तानलाई अहिलेसम्म त कसैले राहतमा दिएको कापीकलमले पुगेको छ । त्यसपछि कसरी पुर्‍याउने हो, थाहा छैन’, उनले भनिन्, ‘झोला दिएथे, फाटिगयो ।’
हिमालको फेदीमा अब हिउँ पर्न थाल्छ । चित्राले बारेको गोठमा लालाबाला लिएर कसरी जाडो कटाउने भन्ने पिरलोले सताउन थालेको उनले बताइन्।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply