पतिले सौता हालेपछि घाँटीमा दाम्लो बाँधेर देउताको शरणमा
मुगु, बुढा बाबुआमाको हेरचाह गर्दै आफ्नो दुःख सुखको साथी बन्लान् भन्ने आशमा ६ वर्षअघि घर ज्वाइँ बनाइएका मुगुका एक पुरुषले सौता लिएर भागेपछि न्याय पाउन एक महिला देउताको शरणमा पुगेकी छन् ।
नार्थबु गाविस–३ जवलधारा निवासी २७ वर्षीय जयराज शाहीलाई छ वर्षअघि रारा गाविस–१ गिलाहा गाउँकी २४ वर्षीया करुणा बमसँग बिहे गराइदिएर उनका बाबु आमाले घर ज्वाइँका रुपमा भित्राएका थिए ।
तीन बच्चाका बाबु जयराजले कालै गाविस–६ जोगीबाडाकी नानी भाउ बिटालुलाई जेठमा भगाएर तीन छोराछोरीसहित आफूलाई अलपत्र पारी आफूलाई विश्वासघात गरेको भन्दै न्यायका लागि नाबालक बच्चा वृद्ध बाबुआमासहित घाँटीमा दाम्लो बाँधेर कुल देउताको शरणमा पुगेकी हुन् ।
आफूमाथि सौता हालेको भन्दै सम्बन्धबिच्छेद र मानाचामल भराइदिन भन्दै पीडितले ०७२ साउन २९ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेकी थिइन् ।
अदालती प्रक्रिया ढिलो भएर न्याय पाउन नसकेपछि भन्दै रारा गाविस–१ स्थित आफनो कुल देउता विजयीको मन्दिरमा न्याय माग्दै कोजाग्रत पुर्णिमाका दिन मुखमा खरानी घसेर छ वर्षकी छोरी तथा २ वर्षका छोराका र वृद्ध बाबुआमासहित आफनो घाँटीमा बाबियको दाम्लो बाँधी उनी कुल देउताको शरणमा पुगेकी छिमेकी धर्मराज शाहीले बताएका छन् ।
आफू अन्यायमा परेपछि यहाँका बासिन्दा कानुनी निकाय भन्दा कुल देउताको शरणमा पुग्ने गरेका छन् । कुल देउताले न्याय दिने विश्वास अनुसार अन्यायमा परेकाले देउताको शरणमा पुगेपछि ढिलै भएपनि न्याय दिने विश्वास यहाँका बासिन्दाको छ ।
दुई दिदीहरुको विवाह भएपछि छ वर्ष अघि वृद्ध बाबुआमालाई हेरचाह गर्ने विश्वासले घर ज्वाइँ बनाइएका जयराजले छिमेकी गाविसकी दलित युवतीलाई भगाएर धोका दिँदा यी परिवार देउताको शरणमा पुगेका हुन् ।
ज्वाइँले धोका दिएकाले देउताले केही गर्ने विश्वसाले उनीहरु कुल देउताको शरणमा पुग्न बाध्य भएको धामी गोरा रावलले बताएका छन् ।
जिल्लाभरका प्रख्यात देउताहरुमध्ये रारा गाविसको रुमा बिजयी, भिई गाविस गुरा र रुगा गाविसको थार्पा मष्टालाई कानुन निकाय बराबर गाउँलेले मान्ने गरेकाले आफूलाई अफ्ठेरो पर्दा गाउँलेले देउतालाई भाकल गर्ने गरेको पाइन्छ ।

No comments: